विशेषताहरू
वर्डप्रेसले वेबको 43% भन्दा बढीलाई शक्ति दिन्छ — यो आँकडा हरेक दिन बढिरहेको पनि छ। साधारण वेबसाइटहरू, ब्लगहरू, जटिल पोर्टलहरू र इन्टरप्राइज वेबसाइटहरू र एप्लिकेसनहरू समेत सबै कुरा वर्डप्रेस मार्फत बनाइएको छ।
वर्डप्रेसले प्रयोगकर्ता र प्रकाशकहरूको लागि सरलता र डेभलपरहरूको लागि जटिलतालाई संयोजन गर्दछ। यसले वर्डप्रेसलाई लचिलो बनाउँछ जबकि प्रयोग गर्न सजिलो पनि हुन्छ। निम्न केही सुविधाहरूको सूची हो जुन वर्डप्रेसको साथ आउँछ; यद्यपि हजारौँ प्लगिनहरू उपलब्ध छन् जसले वर्डप्रेसको कार्यक्षमतालाई विस्तार गर्न सक्छन्। त्यसैले वास्तविक कार्यक्षमता लगभग असीमित छ। तपाईँ वर्डप्रेस कोड मार्फत आफूलाई मनपर्ने जे पनि गर्न स्वतन्त्र हुनुहुन्छ। यसलाई विस्तार गर्न सक्नुहुन्छ वा कुनै पनि तरिकाले परिमार्जन गर्न सक्नुहुन्छ वा कुनै पनि लाइसेन्स शुल्क बिना व्यावसायिक परियोजनाहरूको लागि प्रयोग गर्न सक्नुहुन्छ। त्यो नि:शुल्क सफ्टवेयरको सुन्दरता हो। नि:शुल्क भन्नाले मूल्य मात्र होइन यसमा पूर्ण नियन्त्रणको स्वतन्त्रतालाई पनि बुझाउँछ।
यहाँ केही सुविधाहरू छन् जुन हामीलाई लाग्छ कि तपाईँले मन पराउनु हुनेछ।
- सरलता
सरलताले तपाईँलाई अनलाइन हुन र छिट्टै प्रकाशन प्राप्त गर्न सम्भव बनाउँछ। तपाईँको वेबसाइट र तपाईँको सामग्री प्राप्त गर्ने बाटोमा कुनै पनि कुरा आउनु हुँदैन। त्यसो गर्नको लागि वर्डप्रेसको निर्माण भएको हो। - लचिलोपन
वर्डप्रेसको साथ, तपाईँले चाहनु भएको जुनसुकै प्रकारको वेबसाइट सिर्जना गर्न सक्नुहुन्छ: व्यक्तिगत ब्लग वा वेबसाइट, फोटोब्लग, व्यवसायिक वेबसाइट, व्यावसायिक पोर्टफोलियो, सरकारी वेबसाइट, पत्रिका वा समाचार वेबसाइट, अनलाइन समुदाय, यहाँसम्म कि वेबसाइटहरूको नेटवर्क समेत। तपाईँले थिमहरू प्रयोग गरेर आफ्नो वेबसाइट सुन्दर बनाउन सक्नुहुन्छ, र प्लगिनहरू प्रयोग गरेर त्यसलाई विस्तार गर्न सक्नुहुन्छ। तपाईँले आफैँको आफ्नै एप्लिकेसन समेत बनाउन सक्नुहुन्छ। - सजिलै प्रकाशन गर्नुहोस्
यदि तपाईँले कहिल्यै डकुमेन्ट सिर्जना गर्नुभएको छ भने, तपाईँ पहिले नै वर्डप्रेससँग सामग्री सिर्जना गर्न माहिर हुनुहुन्छ। तपाईँले पोस्टहरू र पृष्ठहरू सिर्जना गर्न, तिनलाई सहजै ढाँचा बनाउन, मिडिया घुसाउन, र बटनमा क्लिक गरेपछि तपाईँको सामग्री अनलाइन भएर वेबमा उपलब्ध हुन्छ। - प्रकाशन टुल
वर्डप्रेसले तपाईँलाई सामग्री व्यवस्थापन गर्न सजिलो बनाउँछ। ड्राफ्टहरू सिर्जना गर्नुहोस्, प्रकाशन अनुसूची बनाउनुहोस् र तपाईँको पोस्ट संशोधनहरू हेर्नुहोस्। आफ्नो सामग्री सार्वजनिक वा निजी बनाउनुहोस् र पासवर्डको साथ पोस्ट र पृष्ठहरू संरक्षित गर्नुहोस्। - प्रयोगकर्ता व्यवस्थापन
हरेक व्यक्तिलाई तपाईँको वेबसाइटमा एउटै पहुँच आवश्यक हुँदैन। प्रशासकहरूले साइटको व्यवस्थापन गर्नुहुन्छ, सम्पादकहरूले सामग्रीसँग काम गर्नुहुन्छ, लेखक र योगदानकर्ताहरूले त्यो सामग्री लेख्नुहुन्छ, र सदस्यहरूसित तिनीहरूले आफैले व्यवस्थापन गर्नसक्ने प्रोफाइल हुन्छ। यसले तपाईँलाई तपाईँको वेबसाइटका लागि विभिन्न प्रकारका योगदानकर्ताहरू राख्न अनुमति दिन्छ, र अरूलाई तपाईँको समुदायको हिस्सा मात्र बन्न दिन्छ। - मिडिया व्यवस्थापन
भन्छन्, एउटा तस्बिरले हजार शब्द बोल्छ, त्यसैले वर्डप्रेसमा तस्बिर र मिडिया छिटो र सजिलैसँग अपलोड गर्न सक्नु तपाईँका लागि महत्वपूर्ण हुन्छ। तपाईँको मिडियालाई अपलोडरमा ड्र्याग र ड्रप गरी आफ्नो वेबसाइटमा थप्नुहोस्। वैकल्पिक पाठ (alt text) र क्याप्सनहरू थप्नुहोस्, र तस्बिरहरू र ग्यालेरीहरूलाई आफ्नो सामग्रीमा घुसाउनुहोस्। तपाईँले रमाइलो साथ प्रयोग गर्न सक्ने केही तस्बिर सम्पादन गर्ने उपकरणहरू पनि हामीले थपेका छौँ। - पूर्ण स्तरीय पालना
वर्डप्रेसले उत्पन्न गरेको हरेक कोड W3C द्वारा सेट गरिएका मापदण्डहरूको पूर्ण पालना गर्ने हुन्छ। यसको अर्थ तपाईँको वेबसाइट आजका ब्राउजरमा काम गर्नेछ, साथै आगामी पुस्ताका ब्राउजरहरूसँग पनि अगाडिको अनुकूलता कायम रहनेछ। तपाईँको वेबसाइट अहिले र भविष्य दुवैका लागि सुन्दर वस्तु हो। - सजिलो थिम प्रणाली
वर्डप्रेस तीन वटा पूर्वनिर्धारित थिमहरू सहित आउँछ, तर यदि ती तपाईँका लागि उपयुक्त छैनन् भने, त्यहाँ हजारौँ थिमहरू भएको एउटा थिम डाइरेक्टरी छ जसबाट तपाईँले सुन्दर वेबसाइट सिर्जना गर्न सक्नुहुन्छ। तिनीहरू मध्ये कुनै पनि तपाईँको रुचिको अनुसार छैनन्? एउटा बटन क्लिक गरेर आफ्नो थिम अपलोड गर्नुहोस्। तपाईँले आफ्नो वेबसाइटलाई पूर्णरूपले नयाँ रूप दिन केही सेकेण्ड मात्र लाग्छ। - प्लगिनहरूद्वारा विस्तार गर्नुहोस्
प्रत्येक प्रयोगकर्ताका लागि वर्डप्रेस धेरै सुविधा सहित आउँछ। वर्डप्रेस कोरमा नभएका प्रत्येक सुविधाका लागि हजारौं प्लगिन भएको प्लगिन डाइरेक्टरी छ। जटिल ग्यालेरीहरू, सामाजिक सञ्जाल, फोरमहरू, सामाजिक मिडिया विजेटहरू, स्पामबाट सुरक्षा, क्यालेन्डरहरू, सर्च इन्जिन अनुकूलनका लागि सूक्ष्म कन्ट्रोलहरू, र फारामहरू थप्नुहोस्। - अन्तरनिर्मित टिप्पणीहरू
तपाईँको ब्लग तपाईँको घर हो, र टिप्पणीहरूले तपाईँका साथीहरू र अनुयायीहरूले तपाईँको सामग्रीसँग संलग्न हुनका लागि एउटा स्पेस प्रदान गर्छन्। वर्डप्रेसका टिप्पणी उपकरणहरूले तपाईँलाई छलफलका लागि फोरम हुन र त्यस छलफललाई संयमित गर्न आवश्यक सबै कुरा दिन्छन्। - सर्च इन्जिनका लागि अनुकूलित
वर्डप्रेस सुरुबाटै सर्च इन्जिनहरूको लागि अनुकूलित छ। अझ सूक्ष्म एसइओ कन्ट्रोलका लागि, तपाईँका लागि त्यसको ख्याल राख्ने पर्याप्त एसइओ प्लगिनहरू उपलब्ध छन्। - आफ्नो भाषामा वर्डप्रेस प्रयोग गर्नुहोस्
वर्डप्रेस ७० भन्दा बढी भाषाहरूमा उपलब्ध छ। यदि तपाईँ वा जसका लागि तपाईँ वेबसाइट बनाउँदै हुनुहुन्छ, वर्डप्रेसलाई अंग्रेजी बाहेक अरू कुनै भाषामा प्रयोग गर्न चाहनुहुन्छ भने, त्यसो गर्न सजिलै सक्नुहुन्छ। - सरल स्थापना र अपग्रेडहरू
वर्डप्रेसलाई सधैँ सजिलै स्थापना र अपग्रेड गर्न सकिन्छ। धेरै वेब होस्टहरूले एक-क्लिक वर्डप्रेस इंस्टॉलरहरू उपलब्ध गराउँछन् जसले तपाईँलाई वर्डप्रेसलाई वास्तवमै केवल एक पटक क्लिक गरेर स्थापना गर्न दिन्छन्! वा, यदि तपाईँ एफटीपी प्रोग्राम प्रयोग गर्न सन्तुष्ट हुनुहुन्छ भने, तपाईँ डाटाबेस सिर्जना गर्नु, एफटीपी प्रयोग गरेर वर्डप्रेस अपलोड गर्नु, र इंस्टॉलर चलाउनु सक्नुहुन्छ। - आयातकहरू
के तपाईँ त्यस्तो ब्लग वा वेबसाइट सफ्टवेयर प्रयोग गरिरहनु भएको छ जसले तपाईँलाई सन्तुष्ट पारेको छैन? के तपाईँको ब्लग बन्द हुन लागेको होस्ट गरिएको सेवामा चलिरहेको छ? वर्डप्रेससँग Blogger, LiveJournal, Movable Type, TypePad, Tumblr र वर्डप्रेसका लागि आयातकहरू छन्। यदि तपाईँ स्थानान्तरण गर्न तयार हुनुहुन्छ भने, हामीले तपाईँका लागि यसलाई सजिलो बनाएका छौँ। - आफ्नो डाटा आफैं नियन्त्रण गर्नुहोस्
होस्ट गरिएको सेवाहरू आउँछन् र जान्छन्। यदि तपाईँले कहिल्यै हराएको कुनै सेवा प्रयोग गर्नुभएको छ भने, त्यो कति पीडादायक हुन सक्छ भन्ने तपाईँलाई थाहा छ। यदि तपाईँले कहिल्यै आफ्नो वेबसाइटमा विज्ञापनहरू देख्नुभएको छ भने, तपाईँ पक्कै निकै झर्किनुभएको हुन्छ। वर्डप्रेस प्रयोग गर्दा कुनै पनि व्यक्तिलाई तपाईँको सामग्रीमा पहुँच हुँदैन। आफ्नो डाटा आफैं नियन्त्रण गर्नुहोस्, सबै—तपाईँको वेबसाइट, तपाईँको सामग्री, तपाईँको डाटा। - स्वतन्त्रता
वर्डप्रेसलाई जिपिएल अन्तर्गत लाइसेन्स दिइएको छ जुन तपाईँको स्वतन्त्रताको रक्षा गर्न सिर्जना गरिएको हो। तपाईँ आफूले रोज्नुभएको कुनै पनि तरिकामा वर्डप्रेस प्रयोग गर्न स्वतन्त्र हुनुहुन्छ: यसलाई स्थापना गर्नुहोस्, यसलाई प्रयोग गर्नुहोस्, यसलाई परिमार्जन गर्नुहोस्, यसलाई वितरण गर्नुहोस्। सफ्टवेयर स्वतन्त्रता वर्डप्रेस निर्माणको आधार हो। - समुदाय
वेबमा सबैभन्दा लोकप्रिय खुला स्रोत CMS भएको वर्डप्रेससँग एक सक्रिय र सहयोगी समुदाय छ। सहायता फोरमहरू मा प्रश्न सोध्नुहोस् र स्वयंसेवकबाट सहयोग प्राप्त गर्नुहोस्, वर्डप्रेसबारे थप जान्न वर्डक्याम्प वा मिटअपमा सहभागी हुनुहोस्, वर्डप्रेससम्बन्धी ब्लग पोस्टहरू र व्याख्यानहरू पढ्नुहोस्। वर्डप्रेसको मुटुमा समुदाय नै रहेको छ, जसले यसलाई आजको अवस्थामा पुर्याएको छ। - योगदान गर्नुहोस्
तपाईँ पनि वर्डप्रेस हुन सक्नुहुन्छ! वर्डप्रेस निर्माण गर्न सहयोग गर्नुहोस्, सहायता फोरमहरूमा प्रश्नहरूको उत्तर दिनुहोस्, दस्तावेज लेख्नुहोस्, वर्डप्रेसलाई आफ्नै भाषामा अनुवाद गर्नुहोस्, वर्डक्याम्पमा भाषण दिनुहोस्, आफ्नो ब्लगमा वर्डप्रेसबारे लेख्नुहोस्। जुनसुकै सीप जे रहोस्, हामी तपाईँलाई स्वागत गर्न चाहन्छौँ!
डेभलपर सुविधाहरू
डेभलपरहरूका लागि, हामीसँग धेरै सामानहरू उपलब्ध छन् जुन तपाईँले वर्डप्रेसलाई जुनसुकै दिशामा विस्तार गर्न प्रयोग गर्न सक्नुहुन्छ जहाँ तपाईँ कल्पना गर्नुहुन्छ।
- प्लगिन प्रणाली
वर्डप्रेस API हरू ले तपाईँलाई वर्डप्रेसलाई विस्तार गर्न प्लगिन सिर्जना गर्न सम्भव बनाउँछ। वर्डप्रेसको विस्तारयोग्यता तपाईँको प्रयोगका लागि उपलब्ध हजारौँ हुकरूमाथि आधारित छ। तपाईँले आफ्नो प्लगिन सिर्जना गर्नुभएपछि, यसलाई होस्ट गर्नका लागि हामीसँग तपाईँका लागि प्लगिन रिपजिटरी समेत उपलब्ध छ। - थिम प्रणाली
ग्राहक, अन्य वर्डप्रेस प्रयोगकर्ता वा आफ्नै लागि वर्डप्रेस थिमहरू सिर्जना गर्नुहोस्। वर्डप्रेसले तपाईँले चाहेअनुसार सजिलो वा जटिल थिम सिर्जना गर्न विस्तारयोग्यता प्रदान गर्दछ। यदि तपाईँले आफ्नो थिम निःशुल्क रूपमा दिन चाहनुहुन्छ भने तपाईँले यसलाई थिम रिपजिटरी मा प्रयोगकर्ताहरूलाई दिन सक्नुहुन्छ। - एप्लिकेसन फ्रेमवर्क
यदि तपाईँले कुनै एप्लिकेसन बनाउनुहुन्छ भने, वर्डप्रेसले त्यसमा पनि सहयोग गर्न सक्छ। वर्डप्रेसले तपाईँको एपलाई चाहिने धेरै जसो भित्री विशेषताहरू प्रदान गर्दछ: अनुवादहरू, प्रयोगकर्ता व्यवस्थापन, HTTP रिक्वेस्टहरू, डाटाबेसहरू, युआरएल राउटिङ र अरू धेरै। यससँग अन्तरक्रिया गर्नका लागि तपाईँले हाम्रो REST API पनि प्रयोग गर्न सक्नुहुन्छ। - कस्टम सामग्री प्रकारहरू
वर्डप्रेस पूर्वनिर्धारित सामग्री प्रकारहरूसहित आउँछ, तर अझ लचकता लागि तपाईँले केही लाइन कोड थपेर आफ्नो कस्टम पोस्ट प्रकारहरू, ट्याक्सोनोमीहरू, र मेटाडाटा सिर्जना गर्नुहुन्छ। वर्डप्रेसलाई तपाईँले चाहनु भएको जुनसुकै दिशामा लैजानुहोस्।